काठमाडौं, २३ असोज । नेपाल प्रहरीका चर्चित एसएसपी रमेश खरेल काठमाडौं सरुवा भएका छन् ।
शुक्रबार प्रहरी प्रधान कार्यालयले गरेको ३५ एसएसपीको सरुवा सूचीअनुसार मध्य क्षेत्रीय प्रहरी तालिम भरतपुर चितवनमा कार्यरत खरेल काठमाडौं सरुवा भएका हुन् ।
सरूवा भएका खरेलले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जको जिम्मेवारी पाएका छन् ।
यसअघि एआइजी बढुवामा ब्रिफकेश लेनदेन भएको सार्वजनिक अभिव्यक्ति दिएका एसएसपी रमेश खरेललाई गृहमन्त्री वामदेव गौतमले भरतपुर तालिम केन्द्रको प्रमुखमा सरुवा गरेका थिए ।
अपराध नियन्त्रण र प्रशिक्षणमा विज्ञ खरेल खरो स्वभावका अफिसर हुन् ।
एक वर्षको अवधिमा चितवनमा बसेर के–के गर्नुभयो भन्ने दैनिक नेपालको प्रश्नमा एसएसपी खरेलले मैले केही भन्न नसक्ने बताए । उनले भने- ‘मैले के-के गरे त्यो हेर्न आउनुस्, यहाँ आएपछि सबै कुरा छर्लंग हुन्छ ।’ खरेलले आफूले गरेका कामको आफैले प्रशंसा गर्न आफूले नसक्ने बताए ।
प्रहरी प्रधान कार्यालयका अनुसार वर्ष दिनअघि चितवन सरुवा भएका एसएसपी खरेलले तालिम केन्द्रमा जवानहरुलाई अनुशासन सिकाउने, अपराध अनुसन्धानमा दक्ष बनाउने र आफूजस्तै निडर अफिसर उत्पादन गर्ने काम गरेका छन् । एक समय काठमाडौं प्रहरी प्रमुख रहेका बेला खरेलले राजधानीका गुण्डालाई सजिलै तह लगाएका थिए ।
Source: एसएसपी रमेश खरेलको ‘पोष्टिङ’ काठमाडौंमा, चितवनमा के–के गरे ?