- कान्तिपुर संवाददाता, काठमाडौं आश्विन १६, २०७२- नयाँ ढंग र सोचबाट खुला हृदयका साथ सबै पक्षलाई मान्य हुने गरी समाधान खोज्न ‘हामी नागरिक’ नामक संस्थाले मुलुकका राजनीतिक दल र सरोकारवालालाई आहवान गरेको छ । नयाँ संविधान र तराई–मधेस आन्दोलनलाई लक्षित गरेर संस्थाका तर्फबाट शनिबार जारी विज्ञप्तिमा भनिएको छ, ‘सबै पक्षलाई मान्य हुने गरी प्रतिबद्ध भएर वार्ता गर्न आहवान गर्दछौं ।’ बुद्धिजीवीहरू पीजे शाह, केशवभक्त माथेमा, बालानन्द शर्मा, आनन्द आदित्य, केशर भण्डारी, ध्रुव जोशी, विनोद भक्त, सूर्य सत्याल, राघबेन्द्र उपाध्याय, दुर्गानाथ शर्मा, अरुण सिंह, सुजाता देव र सुरेन्द्र उप्रेती सम्मिलित संस्थाले हाल भइरहेको सरकार र मधेसी नेताको वार्ता सकारात्मक दिशातर्फ अघि बढेको सुन्दा खुसी लागेको बताएको छ । विज्ञप्तिमा भनिएको छ, ‘वार्ता सफल होस् भन्ने हाम्रो शुभकामना छ । यसबाट देशका सबै पक्ष र समुदाय आफूलाई वञ्चित महसुस नगरेर संविधान हामी सबैको हो भन्ने भावनाका साथ संविधानप्रति समर्पित हुन सकून् ।’ साथै, संस्थाले स्मृतिपत्रसमेत निकालेको छ । यसमा मुलुकमा भएको संकट र त्यसको समाधानका बारेमा पनि उल्लेख गरिएको छ । पत्रमा भनिएको छ, ‘संविधान भनेको सदाकालीन, पूर्वनिश्चित र सबै कुरा भएको स्थिर दस्तावेज मात्र होइन, भविष्यमा पूरा गर्छौं भनेर दिइएको वाचाहरूको आश्वासन मात्र पनि होइन, न त यो सैद्धान्तिक कुराहरूको एउटा संग्रह नै हो ।’ प्रकाशित: आश्विन १६, २०७२ source: Kantipur
सबैलाई मान्य समाधान खोज : बुद्धिजीवीहरू